सशस्त्र प्रहरीमा ६६६ पदका लागि भर्ना खुला
काठमाडौँ, २६ भदौ – सशस्त्र प्रहरी बल, नेपालले साधारण समूहतर्फ रिक्त विभिन्न पदमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि ६ सय ६६ पदमा नयाँ भर्ना आह्वान गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय, मानवश्रोत विभाग, हलचोकले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवानतर्फ ६ सय ४ जना र विभिन्न ट्रेडका सशस्त्र प्रहरी परिचरतर्फ ६२ पदमा दरखास्त माग गरेको हो ।
सशस्त्र प्रहरी जवानतर्फ खुलाबाट ३ सय २६, आदिवासी जनजातिबाट ८५, मधेसीबाट ७४, महिलाबाट ५३, दलितबाट ४०, पिछडिएको क्षेत्रबाट १४ तथा अमर र अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ पद छुट्याइएको छ । यस्तै, सशस्त्र प्रहरी परिचरतर्फ भान्छे ३८, कूचिकार आठ, केशकर्तक सात, सूचिकार छ, चर्मकर्मी दुई र माली एक गरी ६२ पदमा आवेदन खुलाइएको छ । यी पदमा पनि खुला तथा समावेशी समूहका लागि कोटा निर्धारण गरिएको छ ।
दरखास्त भदौ ३० गतेदेखि असोज २८ गतेसम्म कार्यालय समयभित्र बुझाउनुपर्नेछ । अनलाइनबाट फाराम भर्ने आवेदकले आफूले रोजेको सम्बन्धित कार्यालयमा असोज ३० गतेभित्र स्वयं उपस्थित भई सक्कल दरखास्त फाराम बुझाउनुपर्नेछ । प्रारम्भिक शारीरिक परीक्षणको तालिका आगामी कात्तिक १३ गते सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरिने प्रधान कार्यालयले जनाएको छ ।

