पृथ्वी राजमार्ग अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान बढाइयो
भरतपुर । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरलगायत स्थानमा सडक भासिएर यातायात अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडानमा यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै बुद्ध एयरले भरतपुरबाट काठमाडौं हुने दैनिक उडानको संख्या दोब्बरभन्दा बढी पुर्याएको छ । सामान्य अवस्थामा दैनिक पाँचवटा उडान हुँदै आएकामा अहिले आवश्यकताअनुसार ९ देखि ११ वटासम्म उडान सञ्चालन भइरहेको बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिनुभयो ।
भरतपुर–काठमाडौं रुटमा बुद्ध एयरको ‘एटीआर–७२’ जहाज सञ्चालन हुँदै आएको छ । ७२ जना यात्रु बोक्ने क्षमता भए पनि भरतपुर विमानस्थलको धावनमार्ग छोटो भएकाले जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न नसक्ने बताइएको छ । सामान्यतः काठमाडौं–भरतपुर उडानमा ६५ देखि ७० जना र भरतपुर–काठमाडौं उडानमा करिब ५० जना यात्रु बोक्ने गरिएको छ ।
वर्षायाममा सडकमार्गमा यात्रा जोखिमपूर्ण हुनुका साथै पृथ्वी राजमार्गसमेत अवरुद्ध भएपछि यात्रुले हवाई यात्रालाई प्राथमिकता दिएका छन् । भरतपुरबाट चितवनबाहेक नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरलगायत जिल्लाका यात्रुसमेत काठमाडौं जाने गरेका छन् । कृष्णभिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौं जाने वैकल्पिक सडक प्रयोग गर्न सकिने भए पनि यात्रुको चापलाई ध्यानमा राख्दै बुद्ध एयरले उडान संख्या बढाएर सेवा सहज बनाएको जनाएको छ ।

