भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला, ३ हजार ९९२ अझै बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजेसम्म एक हजार ३५१ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार रसुवामा १६९, नुवाकोटमा १९६, धादिङमा ६९, चितवनमा ३६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको हो ।
फेला परेका शवको पहिचानका लागि मृतकका एक हजार १८१ र आफन्तका एक हजार २३८ गरी दुई हजार ४१९ वटा डीएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ । पहिचान हुन नसकेका एक हजार २९३ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ । हालसम्म एक हजार ४४ शव व्यवस्थापन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि सात हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ ।
प्रहरीका अनुसार अझै तीन हजार ९९२ जना बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको छ । विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा तीन हजार १९० जनालाई राखिएको प्रहरीले जनाएको छ । प्रहरीले बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, स्थानीयवासी तथा विभिन्न निकायसँगको समन्वयमा उद्धार र खोजी गर्ने तथा बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउने कामसमेत जारी राखेको जनाएको छ ।

