त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनिएको संकेत, उद्धार तीव्र
काठमाडौँ, १९ भदौ – रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको इन्जिनियर श्रीराम न्यौपानेले बताउनुभएको छ। उहाँका अनुसार नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी दिएको हो।
न्यौपानेले सामाजिक सञ्जालमार्फत सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको जानकारी प्राप्त भएको उल्लेख गर्नुभएको छ। उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिलाई नआत्तिन आग्रह गर्दै आफूहरू उद्धारका लागि आएको बताएपछि भित्रबाट प्रतिक्रिया आएको उहाँले जनाउनुभएको छ।
उहाँका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारीले उद्धारमा आशा जगाएको बताउँदै उहाँले उद्धार कार्य अझै जारी रहेको जानकारी दिनुभएको छ।

