खाना पकाउने ग्यासको मूल्य बढ्यो, प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ १८ पैसा
काठमाडौँ, १९ भदौ – उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु १०५ रुपैयाँ १८ पैसा बढाएका छन्। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ढुवानी लागत बढेको भन्दै उद्योगीले ग्यासको मूल्य वृद्धि गरेका हुन्। मूल्य वृद्धिसँगै अब काठमाडौँ उपत्यकामा एक सिलिन्डर ग्यासको मूल्य रु दुई हजार ६० बाट बढेर रु दुई हजार १६५ रुपैयाँ १८ पैसा पुगेको छ। व्यवसायीका अनुसार नयाँ मूल्य आजदेखि नै लागू भएको छ।
नेपाल आयल निगमले यही भदौ १६ गते पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको जनाएको थियो। तर, निगमले डिपो तथा कार्यालयबाट १५ किलोमिटर र एलपी ग्यासको हकमा उद्योगबाट ५० किलोमिटरसम्मका लागि साविककै मूल्य कायम गर्दै त्यसभन्दा लामो दूरीमा ढुवानी लागतअनुसार थप मूल्य लिन सकिने व्यवस्था गरेको थियो। निगमले गत मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा एलपी ग्यासका लागि उद्योगदेखि ५० किलोमिटरसम्मको दूरीमा प्रतिसिलिन्डर रु दुई हजार ६० मूल्य कायम गरिएको उल्लेख गरेको थियो।
उद्योगदेखि ५० किलोमिटरभन्दा टाढाका उपभोक्ताका लागि भने ढुवानी दूरी र लागतका आधारमा मूल्य निर्धारण गर्न सकिने व्यवस्था निगमले गरेको व्यवसायीको भनाइ छ। यही व्यवस्थालाई आधार बनाएर उद्योगीले ग्यासको मूल्य बढाएका हुन्। यसअघि निगमका कुनै पनि विज्ञप्तिमा ५० किलोमिटरभन्दा बढी दूरीमा ग्यास ढुवानी गर्दा लागतअनुसार मूल्य निर्धारण गर्न सकिने व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको थिएन।

