बाढीपहिरोले मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा यातायात अवरुद्ध
काठमाडौँ – अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोले मुख्य राजमार्ग तथा राजधानी जोड्ने सडकमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले बिहीबार बिहान ६ः३५ बजे सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ–धादिङ जोड्ने चन्द्रागिरि नगरपालिका–२ चिसोपानीमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ ।
बीपी राजमार्गको काभ्रे खण्डमा बाढीको जोखिमलाई मध्यनजर गर्दै रातको समयमा १० टनसम्मका मालवाहक सवारीलाई मात्र सञ्चालन गर्न दिइएको छ । दिउँसो भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । रसुवातर्फ जाने त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकको उत्तरगया–५ खाल्टेमा बाढीले सडक पूर्णरूपमा अवरुद्ध भएको छ । उक्त सडक लामो समयसम्म अवरुद्ध हुनसक्ने प्रहरीले जनाएको छ ।
नुवाकोटको टोखा–छहरे तथा पासाङ ल्हामु राजमार्गमा पनि बाढीपहिरोको जोखिमका कारण रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । सबैभन्दा बढी सवारी चाप रहने पृथ्वी राजमार्गको अवस्था पनि प्रभावित छ । धादिङको कृष्णभीरमा पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको छ । परेवा भिरमा साना सवारीसाधन मात्र एकतर्फी सञ्चालन भइरहेका छन् भने जवाखोला र कमेरेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ ।
प्रहरीले सडकको अवस्था निरन्तर परिवर्तन भइरहेकाले यात्रामा निस्कनुअघि सम्बन्धित सडकखण्डको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ । साथै सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन यात्रुलाई अनुरोध गरिएको छ ।

