अवस्था असहजः खाना पकाउने ग्यास वितरण सहज बनाउँदै साल्ट ट्रेडिङ
काठमाडौँ, १८ भदौ – पृथ्वीराजमार्ग अवरुद्ध भएपछि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन निजी ग्यास उद्योगसँग सहकार्य गरी आफ्ना सिलिन्डरमा ग्यास भर्न थालेको छ । गत आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । त्यसपछि कर्पोरेशनले आफ्नै धादिङको जुगेखोलास्थित एलपीजी प्लान्टमा ग्यासका बुलेट ल्याउन नसक्ने भएपछि वैकल्पिक व्यवस्थामार्फत ग्यास आपूर्ति गर्न थालेको हो ।
कर्पोरेशनले मनोज र बाबा ग्यासका सहज स्थानमा रहेका प्लान्टसँग सहकार्य गरी आफ्ना खाली एसटिसी सिलिन्डरमा ग्यास बोटलिङ गरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा ती दुई निजी प्लान्टमा भरिएका एसटिसी सिलिन्डर शुक्रबारसम्म काठमाडौँ आइपुग्नेछन् । कर्पोरेशनले आफ्नो प्लान्टका लागि छुटेका केही ग्यासका बुलेटसमेत निजी उद्योगतर्फ ‘डाइभर्ट’ गरेको छ ।
सीमित कोटा, कुपनमार्फत वितरण
नेपाल आयल निगमले कर्पोरेशनलाई सीमित मात्रामा ग्यासको ‘पिडिओ’ उपलब्ध गराउँदै आएको छ । निगमले भारतीय आयल कर्पोरेशनसँग कुल तीन हजार २५ ग्यास बुलेटका लागि सम्झौता गरेकोमा करिब दुई प्रतिशत अर्थात् ५३ वटा बुलेट मात्र साल्ट ट्रेडिङको भागमा परेको जनाइएको छ ।
कर्पोरेशनले हाल मासिक ५५ हजारदेखि ६० हजार एसटिसी सिलिन्डर खपत गरिरहेको छ । सीमित कोटाका कारण मागअनुसार ग्यास बिक्री गर्न कठिनाइ भए पनि कर्पोरेशनले कुपन प्रणालीमार्फत वितरणलाई व्यवस्थित बनाउँदै आएको जनाएको छ । सहायक प्रमुख कार्यकारी अधिकृत झाले कुपन वितरण गर्दा नै उपभोक्ताले ग्यास प्राप्त गर्ने दिन सुनिश्चित गरिने बताउनुभयो ।
छ महिनालाई पुग्ने आयोडिनयुक्त नुन मौज्दात
साल्ट ट्रेडिङले आयोडिनयुक्त नुनको सहज आपूर्ति कायम राख्न करिब छ महिनालाई पुग्ने मौज्दात राखेको जनाएको छ । भदौ १७ गतेसम्म कर्पोरेशनका भण्डारणमा एक लाख २७ हजार ३६१ मेट्रिकटन नुन मौज्दात रहेको झाले जानकारी दिनुभयो । देशभर वार्षिक दुई लाख टनभन्दा बढी आयोडिनयुक्त नुनको माग हुने गरेको छ । कर्पोरेशनले गत आर्थिक वर्षमा करिब दुई लाख १० हजार टन नुन बिक्री वितरण गरेको थियो ।
उपभोक्तावादीहरूले नुनजस्तो अत्यावश्यक वस्तुको आपूर्ति सरकारको नीतिअन्तर्गत सार्वजनिक संस्थामार्फत नै सुनिश्चित गर्नुपर्ने बताउँदै आएका छन् । विपद् र असहज परिस्थितिमा निजी क्षेत्रबाट सहज आपूर्ति सम्भव नहुने भएकाले सार्वजनिक संस्थाको भूमिका महत्वपूर्ण हुने उनीहरूको भनाइ छ ।
चिनीमा बजार हस्तक्षेप
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढिरहेका बेला साल्ट ट्रेडिङले बजार हस्तक्षेप गर्दै प्रतिकिलो रु १०० मा चिनी बिक्री गरिरहेको छ । निजी क्षेत्रबाट चिनी प्रतिकिलो रु १३५ सम्म बिक्री भइरहेका बेला कर्पोरेशनले सरकारको नीतिअनुसार सस्तो मूल्यमा बिक्री गरिरहेको हो ।कर्पोरेशनका अनुसार भदौ ९ गते मात्र ६०० टन चिनी आयात गरिएको थियो भने पछिल्ला दिनमा तीन हजार टन चिनी बजारमा पठाइसकिएको छ ।
चामल, दाल, गेडागुडी र तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढिरहेको अवस्थामा आफूले बिक्री गर्ने खाद्यान्नको मूल्य स्थिर राख्न सफल भएको कर्पोरेशनले जनाएको छ । सहायक प्रमुख कार्यकारी अधिकृत झाले सरकारी स्वामित्वको कर्पोरेशनको उद्देश्य नाफा मात्र नभई असहज तथा विपद्को अवस्थामा समेत नुनलगायत अत्यावश्यक उपभोग्य वस्तुको निरन्तर आपूर्ति सुनिश्चित गर्नु रहेको बताउनुभयो । विपद्का समयमा सार्वजनिक संस्थाको भूमिका र आवश्यकता अझ बढ्ने उहाँको भनाइ छ ।

