सुनकोशी, बुढीगण्डकी र महाकालीमा सतर्कता तह पार

काठमाडौँ, १७ भदौ – देशका विभिन्न क्षेत्रमा भइरहेको वर्षासँगै ठूला नदीमा पानीको बहाव बढेर सुनकोशी, बुढीगण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेका छन् । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको मापनमा सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीको जलसतह ७.६२ मिटर पुगेको छ । उक्त स्थानमा ७.५ मिटरलाई सतर्कता तह मानिन्छ । हाल पानीको बहाव स्थिर रहेको छ ।

गोरखाको आरुघाटस्थित बुढीगण्डकी नदीको जलसतह ३.६ मिटर पुगेको छ । यहाँको सतर्कता तह ३.५ मिटर हो । नदीको जलसतह भने विस्तारै घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ । यसैगरी डडेलधुराको पारीगाउँस्थित महाकाली नदीमा जलसतह ६.३७ मिटर पुगेको छ । उक्त स्थानमा ५.८ मिटरलाई सतर्कता तह मानिन्छ । यहाँ पनि पानीको बहाव स्थिर रहेको छ ।

नदीमा जलसतह बढेर सतर्कता तह पार गरेपछि बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । नदी किनारका बासिन्दालाई सुरक्षित स्थान पहिचान गरी सतर्क रहनसमेत अनुरोध गरिएको छ ।

Facebook Comments Box