प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, १७ भदौ – सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

विशेष प्रस्तावमार्फत बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता तथा प्रभावितको उद्धार, घरबारविहीनको व्यवस्थापन, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिनेछ ।

यसैबीच, बिहान ९ः३० बजे अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा रसुवा बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफल हुनेछ । विधायन व्यवस्थापन समितिको बैठक भने अपराह्न १२ः१५ बजे बस्नेछ । बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

Facebook Comments Box