बाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित, पृथ्वी राजमार्गदेखि पासाङ ल्हामुसम्म अवरुद्ध

काठमाडौँ, १६ भदौ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका विभिन्न जिल्लामा सडक अवरोध कायमै रहेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर र गजुरी गाउँपालिका–२ स्थित परेवा भीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भदौ १४ गतेदेखि ती स्थानमा पहिरो खस्ने क्रम जारी रहेकाले राजमार्गमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ ।

ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा भदौ १५ गते दिउँसो पहिरो खसेपछि कान्तिलोकपथ पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । उक्त खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ । दिउँसो भने सडकको अवस्था मूल्याङ्कन गरी सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ ।

नुवाकोटको बेत्रावतीस्थित सिमिटारमा बाढीका कारण पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ । त्यस्तै, टोखा–छहरे सडक खण्डको घट्टेखोलामा बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड लामो समयदेखि अवरुद्ध छ । जिल्लाका अन्य मुख्य सडक तथा राजमार्ग पनि भदौ १० गतेदेखि नै बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्बन्धित सुरक्षा निकायले जारी गरेका सूचना तथा निर्देशन पालना गर्न प्रहरीले आग्रह गरेको छ ।

Facebook Comments Box