धादिङमा बाढीले चार घरमा क्षति
काठमाडौँ, १४ भदौ – धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा त्रिशूली नदीमा आएको बाढीले चार वटा घरमा क्षति पुगेको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार त्रिशूली नदीमा पानीको बहाव बढेपछि स्थानीयका घरमा क्षति पुगेको जानकारी प्राप्त भएको हो।
घटनास्थलमा प्रहरी टोली पुगेर क्षतिको विवरण सङ्कलन गरिरहेको छ। घर पूर्ण रूपमा बगेको हो वा आंशिक क्षति भएको हो भन्ने यकिन भने प्रहरीको स्थलगत निरीक्षणपछि मात्र हुने प्रशासनले जनाएको छ। गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले पनि बाढीले स्थानीयका चार वटा घरमा क्षति पुगेको जानकारी आफूले पाएको बताउनुभएको छ। त्रिशूली नदीमा पानीको बहाव बढ्दै गएकाले नदी तटीय क्षेत्र जोखिममा रहेको भन्दै स्थानीय प्रशासनले बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

