तिब्बत बाढीमा ५४६ जना बेपत्ता, १०४ नेपाली

बेइजिङ । तिब्बतमा आएको भीषण बाढीमा परी ५४६ जना बेपत्ता भएका छन्। चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार बेपत्ता हुनेमध्ये २३ देशका २६१ जना विदेशी नागरिक रहेका छन्। बेपत्ता विदेशी नागरिकमध्ये नेपालीको सङ्ख्या सबैभन्दा धेरै छ। चिनियाँ अधिकारीका अनुसार तिब्बतमा १०४ जना नेपाली नागरिक अझै बेपत्ता छन्।

बेपत्ता विदेशी नागरिकमा भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८, बेलायतका १५ तथा क्यानडा र अस्ट्रेलियाका ६–६ जना रहेका छन्। यस्तै, दक्षिण अफ्रिकाका चार, मलेसिया, जर्मनी र रुसका तीन–तीन तथा फ्रान्स, न्युजिल्यान्ड, इस्टोनिया र आयरल्यान्डका दुई–दुई जना बेपत्ता छन्। फिनल्यान्ड, नेदरल्यान्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन र हंगेरीका एक–एक जना बेपत्ता रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ अधिकारीहरूले बेपत्ता नागरिकका सम्बन्धित दूतावास तथा कन्सुलर सेवाहरूलाई घटनाबारे जानकारी गराइसकेका छन्। विभिन्न सरकारी निकायको समन्वय र अनुसन्धानपछि बेपत्ताको विवरण सार्वजनिक गरिएको सीसीटीभीले जनाएको छ। बाढीका कारण तिब्बत र नेपालका सीमावर्ती क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ।

Facebook Comments Box