काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि आवश्यक सहयोग गर्ने भएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विभिन्न अस्पतालमा उपचाररत बाढी प्रभावित घाइते तथा आफन्त बेपत्ता भएका परिवारका सदस्यसँग भेटघाट गर्दै महानगरले तत्काल आवश्यक सहयोग गर्ने बताउनुभएको हो।

कार्यवाहक प्रमुख डङ्गोल नेतृत्वको टोलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुगेर बाढीबाट घाइते भएकाको उपचार अवस्था तथा आवश्यक व्यवस्थाबारे जानकारी लिएको थियो। कार्यवाहक प्रमुख डङ्गोलले विपद्का कारण राष्ट्रिय सङ्कटको अवस्था सिर्जना भएकाले नागरिकको जीवन रक्षा, घाइतेको उद्धार तथा राहतका लागि महानगरले तत्काल आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभयो।

उहाँले परिवार तथा आफन्त गुमाएका व्यक्तिलाई पनि महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत घाइतेको अवस्थाबारे जानकारी लिँदै डङ्गोलले आवश्यक औषधि तथा स्वास्थ्य उपकरणको उपलब्धताबारे पनि जानकारी लिनुभएको थियो।

अस्पतालका उपनिर्देशक डा. पवनराज चालिसेले बाढी तथा अन्य विपद्का कारण आकस्मिक स्वास्थ्य सेवा बढेकाले औषधि तथा अन्य अत्यावश्यक सामग्रीको थप व्यवस्था गर्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो। यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेको अवस्थाबारे पनि कार्यवाहक प्रमुख डङ्गोलले जानकारी लिनुभएको थियो।

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले उपचाररत बिरामीको अवस्थाबारे जानकारी गराउनुभएको थियो। भेटका क्रममा कार्यवाहक प्रमुख डङ्गोलले उपचाररत घाइते तथा बेपत्ता परिवारका सदस्यलाई आवश्यक सहयोग उपलब्ध गराउन महानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो।

Facebook Comments Box