भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन
सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार र अन्य कामका सिलसिलामा रहेका सुनसरीका १५ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रामधुनी नगरपालिकाका चार जना भने परिवारको सम्पर्कमा आएका छन्।
सम्पर्कमा आएका रामधुनी नगरपालिका–५ का नवराज ढकाल, देवानगञ्ज गाउँपालिका–७ का देवनन्दन यादव, रामधुनी–८ का जीवन सिंह र रामधुनी–५ का सञ्जित नारायण रहेका छन्। यस्तै, दुहबी नगरपालिका–४ का सचिन गौतम, धरानका मुकेश नेपाल, रामधुनी–३ का धिरज साह, भोक्राहा नरसिंह गाउँपालिका–३ का श्यामनारायण साह र कोशी गाउँपालिका–९ की मीना बजगाईँ अझै सम्पर्कमा आउन सकेका छैनन्।
बराहक्षेत्र नगरपालिका–११ मधुवनका छवि केशर काफ्ले र मणि करण राई, इटहरी उपमहानगरपालिका–१९ का नेपाली सेनाका लेस नायक प्रभाकर दङ्गाल, इनरुवा नगरपालिका–५ का पुष्पराज भट्टराई र रामधुनी नगरपालिका–३ का दिनेशकुमार चौधरी पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, बराहक्षेत्र नगरपालिका–७ का भुवनबहादुर श्रेष्ठ र सोही वडाकी रविनाकुमारी धामी, इटहरी उपमहानगरपालिका–२० का अमरबहादुर खड्का र मनमाया खड्का तथा बराहक्षेत्र नगरपालिका–४ का मोहन माझीसँग पनि अहिलेसम्म सम्पर्क हुन सकेको छैन।
रसुवाको भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीपछि विभिन्न जिल्लाबाट रोजगारी तथा व्यवसायका लागि पुगेका मानिस सम्पर्कविहीन भएको विवरण सार्वजनिक भइरहेका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले प्रयास जारी राखेका छन्।

