भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त
काठमाडौँ, ११ भदौ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। महासचिव गुटेरेसका प्रवक्ताले जारी गरेको वक्तव्यमा बाढीका कारण धेरै मानिसको ज्यान गएको, केही बेपत्ता भएको तथा ठूलो भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गरिएको उल्लेख छ।
महासचिव गुटेरेसले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। उहाँले बाढीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता पनि जनाउनुभएको छ। वक्तव्यमा नेपालमा संयुक्त राष्ट्रसङ्घले विपद्को प्रभावको मूल्याङ्कन तथा तत्काल आवश्यक सहायता उपलब्ध गराउनेलगायत सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यमा सहयोग गरिरहेको जनाइएको छ।
बाढी प्रभावित समुदायलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घका टोली तथा मानवीय सहायता साझेदारले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेको महासचिव गुटेरेसले जानकारी दिनुभएको छ। उहाँले बाढी प्रभावितको जीवन बचाउन खटिएका आपत्कालीन उद्धारकर्मीहरूको प्रशंसा गर्दै थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घ तयार रहेको दोहोर्याउनुभएको छ।

