आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग
काठमाडौँ, ११ भदौ – रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशीसहित त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार तथा पुनःस्थापनाका लागि तत्काल करिब १९ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।आइएफआरसीले १२ लाख अमेरिकी डलर अर्थात् करिब १८ करोड ९६ लाख २२ हजार रुपैयाँ सहयोग घोषणा गरेको हो।
रेडक्रसका स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा सक्रिय भई खोज, उद्धार तथा राहत वितरणमा जुटिसकेको आइएफआरसीले जनाएको छ। विपद् प्रतिकार्यका लागि निरन्तर सक्रिय रहन पनि उसले आग्रह गरेको छ। आइएफआरसीका महासचिव जगन चापागाईँले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ गर्दै प्रभावितलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन आर्थिक सहयोग प्रदान गरिएको बताउनुभयो।
उहाँले नेपाल रेडक्रस तथा राष्ट्रिय निकायसँगको समन्वयमा आवश्यकताअनुसार समुदायका लागि थप सहयोग परिचालन गर्न आइएफआरसी तयार रहेको बताउनुभयो। महासचिव चापागाईँले प्रभावित समुदायमा रेडक्रसका स्वयंसेवक सक्रिय रहेको र प्रारम्भिक राहत तथा सहयोग उपलब्ध गराउने काम भइरहेको जानकारी दिनुभयो। भोटेकोशी बाढीमा ठूलो जनधनको क्षति हुनुका साथै धेरैको मृत्यु र बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले मृतकका परिवार तथा प्रभावितप्रति समवेदना प्रकट गर्नुभएको छ।

