बाढीपहिरोका कारण नौ जिल्लाका विभिन्न सडकखण्डमा यातायात प्रभावित
काठमाडौँ, ११ भदौ – बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँसहित नौ जिल्लाका विभिन्न सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको वा निश्चित समयका लागि सञ्चालनमा रोक लगाइएको छ।
काठमाडौँको नागढुङ्गा–मुग्लिन सडकखण्डमा बाढीको सम्भावित जोखिमका कारण सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। इलाम नगरपालिका–९ स्थित राजदुवालीमा अत्यधिक वर्षाका कारण झापादेखि ताप्लेजुङ जाने सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। उक्त सडकखण्डमा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ।
बागमती प्रदेशका काभ्रे, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न सडकखण्ड पनि बाढी तथा पहिरोका कारण प्रभावित भएका छन्। काभ्रेको खुर्कोट–नेपालथोक–काठमाडौँ सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गर्न सकिने जनाइएको छ।
मकवानपुरको हेटौँडा–भीमफेदी–बागमती–ललितपुर जोड्ने कान्तिलोकपथमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्लाको मुख्य राजमार्गसमेत बाढीका कारण अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ घ्याङफेदीमा टोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको मुख्य राजमार्ग पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला, गजुरी गाउँपालिका–२ गल्छी तथा गजुरी गाउँपालिका–५ लगायतका क्षेत्रमा बाढीका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पनि बाढीका कारण आवागमन पूर्ण रूपमा रोकिएको छ।
यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबीसकोट नगरपालिका–६ को रिगाउँखोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढी तथा पहिरोको जोखिम रहेका सडकखण्डमा अवस्था हेरेर सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। सडकको अवस्था सुधार भएपछि तथा थप सूचना प्राप्त भएपछि यातायात सञ्चालनसम्बन्धी निर्णय गरिने प्रहरीले जनाएको छ।

