रसुवा बाढीपछि तल्लो तटीय क्षेत्रमा थप जोखिम, सजग रहन आग्रह

काठमाडौँ, ११ भदौ – रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीपछि भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा थप जोखिम हुनसक्ने भन्दै विज्ञहरूले सतर्क रहन आग्रह गरेका छन्। भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी आएपछि रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ।

बुधबार बिहान करिब ९ बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह एक्कासि बढेको थियो। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकले प्रारम्भिक अध्ययनका क्रममा यो बाढी उच्च हिमाली क्षेत्रमा भएको हिउँ–चट्टानको हिमपहिरो अर्थात् ‘आइस–रक एभालान्च’ का कारण आएको हुनसक्ने बताएका छन्।

भिडियो फुटेज र प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा ठूलो परिमाणमा हिउँ तथा चट्टानको गेग्रान भोटेकोशी नदीको सहायक ल्हेन्दे खोलामा खसेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। त्यसबाट अचानक ठूलो पानीको बहाव सिर्जना भई पानी, गेग्रान र ठूला ढुङ्गा तल्लो तटीय क्षेत्रमा बगेको हुनसक्ने वैज्ञानिकहरूको भनाइ छ।

जलविज्ञानसम्बन्धी प्रारम्भिक तथ्याङ्कले बाढीको बहाव असाधारण रहेको देखाएको छ। गल्छीमा त्रिशूली नदीको पानीको सतह ३० मिनेटमै नौ मिटरसम्म बढेको तथा मलेखुमा सोही अवधिमा सात मिटरसम्म बढेको बताइएको छ। बाढीका क्रममा त्रिशूली नदी किनारका धेरै पानी मापन केन्द्र क्षतिग्रस्त वा बगेका छन्। गल्छीस्थित पानी मापन केन्द्र भने सञ्चालनमै रहेको इसिमोडले जनाएको छ।

यसैगरी, गेग्रानका कारण नदीको साँघुरो भागमा अस्थायी रूपमा नदी थुनिएर पहिरो बाँध बनेको थियो कि थिएन भन्ने विषयमा पनि वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन्। यस्तो अवरोधका कारण जम्मा भएको पानी अचानक बाहिर निस्किएमा दोस्रो चरणको बाढीको जोखिम हुनसक्ने भएकाले सम्भावित अवरोधको आकार, स्थान र स्थायित्वबारे निरन्तर मूल्याङ्कन भइरहेको छ।

विपद्का समयमा रेकर्ड गरिएका भूकम्पीय तथ्याङ्कको प्रारम्भिक विश्लेषणमा समेत असामान्य सङ्केत भेटिएको छ। प्रभावित क्षेत्रबाट उत्तरतर्फ करिब १२ किलोमिटर टाढा जिलुङस्थित भूकम्पमापन केन्द्र तथा झाङ्मुस्थित अर्को केन्द्रले असामान्य गतिविधि रेकर्ड गरेका छन्।ती सङ्केत हिमपहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्नेबारे अध्ययन भइरहेको छ। तर हालसम्म भूकम्पीय गतिविधि र बाढीबीच कुनै कारणात्मक सम्बन्ध पुष्टि नभएको वैज्ञानिकहरूले बताएका छन्।

इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले गत वर्षको बाढीबाट प्रभावित यही क्षेत्रमा पुनः ठूलो जोखिम देखिएको बताउनुभएको छ। नेपाल–चीन सीमास्थित नदीको माथिल्लो क्षेत्रमा अझै अवरोध हुनसक्ने भएकाले दोस्रो बाढीको सम्भावनाबारे सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ।

बाढीबाट जलविज्ञान मापन केन्द्रलगायत विभिन्न पूर्वाधारमा ठूलो क्षति पुगेको छ। भोटेकोशी र यससँग जोडिएका नदी प्रणालीका किनारमा धेरै जलविद्युत् आयोजना रहेकाले थप जोखिमको निरन्तर निगरानी आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

सीमापार विपद् जोखिममा क्षेत्रीय सहकार्य आवश्यक

इसिमोडका वरिष्ठ क्रायोस्फियर विशेषज्ञ मोहम्मद फारुक आजमले हिमनदी, हिउँ, पर्माफ्रस्ट तथा हिमाली भूभागसँग सम्बन्धित जोखिमको आवृत्ति बढ्दै गएको बताउनुभएको छ। उहाँका अनुसार जलवायु तथा हिमाली प्रणालीमा भइरहेको परिवर्तनको गति तीव्र भएकाले विद्यमान तयारी र प्रयासलाई थप प्रभावकारी बनाउन आवश्यक छ। ल्हेन्दे खोलाको घटनाले सीमापार विपद् जोखिम सामना गर्न नेपाल, चीनलगायत सम्बन्धित मुलुकबीच अझ बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।

घटनाको वास्तविक कारण तथा तल्लो तटीय समुदायमा कायम जोखिम बुझ्न इसिमोडका विज्ञहरूले जलविज्ञान, भूकम्पीय तथ्याङ्क, रिमोट सेन्सिङ तथा स्थलगत तथ्याङ्कको विश्लेषण गरिरहेका छन्। नेपाल सरकार, वैज्ञानिक संस्था र चीनका साझेदारसँग समन्वय गर्दै मूल्याङ्कनको काम जारी रहेको इसिमोडले जनाएको छ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले अचानक आएको विपद्बाट दुःख व्यक्त गर्दै पीडित तथा प्रभावित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। उहाँले कठिन परिस्थितिमा नेपालका जनता र सरकारप्रति ऐक्यबद्धता जनाउँदै सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

वैज्ञानिकहरूले हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी, हिउँ, पर्माफ्रस्ट र हिमाली भिरालो भूभागमा परिवर्तन भइरहेको भए पनि ल्हेन्दे खोलाको यो विशेष घटनामा जलवायु परिवर्तनको भूमिका कति थियो भन्ने निष्कर्षमा पुग्न थप अध्ययन आवश्यक रहेको बताएका छन्।

Facebook Comments Box