बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत् उत्पादन परीक्षण जारी
म्याग्दी, ८ भदौ – म्याग्दीको बहुप्रतिक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनामा विद्युत् उत्पादनको परीक्षण भइरहेको छ ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार आयोजनाको बाँध, डिसेन्डर, सुरुङ र स्विचयार्डको परीक्षण सफल भइसकेको छ । २० मेगावाट क्षमताको एउटा युनिटको परीक्षण पूरा भएको छ भने अर्को २० मेगावाटको युनिटको पनि परीक्षण सुरु गरिएको छ ।
आयोजनामा एक सातादेखि १० दिनसम्म परीक्षण सञ्चालन गरी त्यसपछि व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिएको केसीले जानकारी दिनुभयो । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, छ किलोमिटर दुई सय ७० मिटर लामो मुख्य सुरुङ तथा दुई वटा पानी थिग्र्याउने पोखरी निर्माण भएका छन् । तिल्केनीचौरमा विद्युत्गृह निर्माण सम्पन्न भई उपकरण परीक्षणको काम भइरहेको छ ।
आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जोड्न विद्युत्गृह परिसरमा निर्माण गरिएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको छ । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सले ४५ महिनामा आयोजना सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७४ मङ्सिरमा करिब रु छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । विभिन्न कारणले पटकपटक म्याद थपिँदै आएको आयोजना चौथो पटक थपिएको समयभित्र सम्पन्न भएको हो ।
कोरोना महामारी, बाढीपहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको आयोजना व्यवस्थापक हरिश अग्रवालले बताउनुभयो । आयोजनाका लागि भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग इलेक्ट्रोमेकानिकलतर्फको ठेक्का सम्झौता भएको थियो । भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना निर्माण गरिएको हो ।
यसअघि कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले राहुघाट जलविद्युत् आयोजनालाई जिल्लाको जलविद्युत् विकासको ‘गेटवे’का रूपमा लिइएको बताउनुभयो । राहुघाट आयोजना सुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा आयोजना सम्पन्न भइसकेको उहाँको भनाइ छ ।
आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित विद्युत् खरिद–बिक्री सम्झौता गरेको छ । राहुघाटबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी डबल सर्किट दाना–कुश्मा प्रसारण लाइनमा जोडिनेछ । त्यसका लागि आवश्यक चारवटा टावर र प्रसारण लाइन निर्माणसमेत सम्पन्न भइसकेको छ ।

