मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च

काठमाडौँ, १ भदौ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा पनि विपद्को जोखिम उच्च रहेको बताउनुभएको छ।

सोमबार प्राधिकरणमा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी छलफलमा उहाँले यस वर्ष मनसुनको ढाँचा असामान्य रहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपद्को जोखिम कायमै रहेको बताउनुभएको हो।

नेपालमा मनसुन प्रवेशको औपचारिक मिति जुन १३ र बाहिरिने औसत मिति अक्टोबर २ मानिन्छ। भदौ १ सम्म मनसुनको करिब एक महिना १४ दिन अवधि बाँकी रहेकाले अब जोखिम व्यवस्थापनमा ‘काउन्टडाउन’को अवस्थामा जानुपर्ने उहाँले बताउनुभयो।

उहाँका अनुसार यस वर्ष देशभर समानरूपमा वर्षा भएको छैन। मध्यपहाडी क्षेत्रमा खण्डवृष्टिका कारण ठूलो जनधनको क्षति भएको छ भने मधेशमा औसतभन्दा निकै कम वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कअनुसार नेपालमा वार्षिक औसत वर्षा करिब एक हजार ४७० मिलिमिटर हुने गरेकामा भदौ १ सम्म करिब ८२४ मिलिमिटर वर्षा भएको छ। यो कुल औसत वर्षाको करिब ५५ प्रतिशत हो।

यस वर्ष वर्षाको समग्र परिमाणभन्दा वितरण र प्रवृत्ति असामान्य देखिएको डा. उप्रेतीले बताउनुभयो। आगामी तीन दिन पश्चिम नेपालमा भारी वर्षा हुनसक्ने तथा तराई र मधेश क्षेत्रमा पनि ठूलो वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो।

यस वर्षको असामान्य वर्षा प्रणालीलाई एल निनो र हिन्द महासागरको ‘इण्डियन ओसन डाइपोल’ अर्थात् आईओडीको अवस्थासँग जोडेर हेर्न सकिने उहाँको भनाइ छ। आईओडी सकारात्मक अवस्थामा पुगेमा दसैँ–तिहारको आसपासमा समेत वर्षा हुनसक्ने सम्भावना रहने उहाँले बताउनुभयो। तर, अहिले नै त्यसबारे निश्चित भन्न नसकिने उहाँको भनाइ छ।

मनसुनसम्बन्धी सूचना सहज रूपमा उपलब्ध गराउन एकीकृत सूचना प्रणाली विकास गर्न लागिएको पनि प्राधिकरणले जनाएको छ। यसैबीच, स्थानीय तहमा डोजर प्रयोग गरी अनावश्यक रूपमा सडक निर्माण गर्दा वर्षायाममा पहिरोको जोखिम बढ्ने भएकाले सडक निर्माणमा सावधानी अपनाउन पनि डा. उप्रेतीले आग्रह गर्नुभएको छ।

Facebook Comments Box