धादिङको चालिसेमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ, १ भदौ – नागढुङ्गा–मुग्लिन सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। धादिङको गजुरी नजिकै चालिसेमा सोमबार बिहान पौने ६ बजेतिर सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्गको दुईतर्फी आवागमन अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ। पहिरो खसेर सडक अवरुद्ध भएपछि काठमाडौँ भित्रिने तथा काठमाडौँबाट बाहिरिने सवारीसाधन लामो समयदेखि जाममा परेका छन्।

सडकमा सवारीसाधनको चाप बढ्दा यात्रुहरूले समेत समस्या भोग्नुपरेको छ। प्रहरीका अनुसार निर्माणाधीन सडक आयोजनाका डोजर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। सडक पूर्णरूपमा सञ्चालनमा नआएसम्म सो मार्ग भएर यात्रा गर्ने सवारीसाधन तथा यात्रुलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

Facebook Comments Box