तनहुँ जलविद्युत् आयोजनाः प्रसारण लाइनका लागि रुख छपान सुरु

दमौली, १३ चैत – तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान कार्य सुरु गरिएको छ। आयोजनाको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनअन्तर्गत चितवन जिल्लाको राष्ट्रिय वन क्षेत्रमा पर्ने रुखहरूमा छपान सुरु गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो।

प्रसारण लाइनको टावर निर्माण तथा मार्गधिकारमा पर्ने वन क्षेत्रको जग्गा र त्यहाँ रहेका बोटबिरुवा हटाउन वन तथा भूसंरक्षण विभागसँग सम्झौता भएपछि काम अघि बढाइएको हो। यस परियोजनाका लागि तनहुँ र चितवनमा पर्ने करिब ९२.७ हेक्टर वन क्षेत्रको जग्गा भोगाधिकार प्राप्त भइसकेको छ भने ९ हजार १२७ रुख हटाउन अनुमति दिइएको छ।

प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणको जिम्मा केइसी इन्टरनेशनल लिमिटेडले लिएको छ। ३३ किलोमिटर लामो लाइनमा पर्ने ९४ टावरमध्ये हालसम्म ७८ वटाको जग हाल्ने र ६९ वटा जडान सम्पन्न भइसकेको छ। यस प्याकेजको समग्र प्रगति ७६ प्रतिशत पुगेको छ।

आयोजनाका अन्य प्याकेजहरूमा पनि काम जारी छ। बाँध निर्माणअन्तर्गत प्याकेज–१ मा ५४ प्रतिशत प्रगति भएको छ भने मुख्य बाँध निर्माणका लागि सेती नदीको धार परिवर्तन, पहुँच सडक तथा डाइभर्सन सुरुङ निर्माण सम्पन्न भइसकेका छन्।

त्यसैगरी, विद्युत्गृह निर्माणअन्तर्गत प्याकेज–२ मा सिनो हाइड्रो कर्पोरेसनले काम गरिरहेको छ, जसको प्रगति ७३ प्रतिशत पुगेको छ। विद्युत्गृहको सिभिल कार्य अन्तिम चरणमा पुगेको छ भने इलेक्ट्रोमेकानिकल जडान कार्य जारी रहेको जनाइएको छ।

Facebook Comments Box