मोदी खोलामा बाढी, अन्नपूर्ण मन्दिरमा पुजारीसहित तीन जना जोखिममा

कास्की, २९ साउन – अविरल वर्षापछि मोदी खोलामा आएको बाढीका कारण कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित माता अन्नपूर्ण मन्दिरमा रहेका पुजारीसहित तीन जना जोखिममा परेका छन् । मोदी खोलाको बीचमा रहेको ढिस्कोमा मन्दिर निर्माण गरिएको छ । गएराति लगातार वर्षा भएपछि खोलामा पानीको बहाव बढ्दा मन्दिरको दुवैतर्फ रहेका दुई वटा मेटल पुल बाढीले बगाएको हो । पुल बगेपछि मन्दिरमा रहेका तीन जना खोलाको बीचमा फसेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालका अनुसार फसेका तीन जनाको पहिचान र ठेगाना खुल्न सकेको छैन । उनीहरूको उद्धारका लागि सुरक्षा टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी उद्धार सामग्रीसहित घटनास्थलमा पुगिसकेको उहाँले जानकारी दिनुभयो ।

घटनाको जानकारी पाएपछि राति १ः२७ बजे प्रहरीचौकी नयाँपुलबाट प्रहरी सहायक निरीक्षक रमेश अधिकारीको नेतृत्वमा चार जनाको टोली उद्धारका लागि खटिएको थियो । यस्तै, सशस्त्र प्रहरी बल नं. २४ गण कालिका कास्कीबाट प्रहरी नायब निरीक्षक शरणबहादुर खड्काको नेतृत्वमा १३ जनाको विपद् व्यवस्थापन टोलीसमेत घटनास्थलतर्फ परिचालन गरिएको छ ।

निरन्तर वर्षा भइरहेकाले मोदी खोलाको बहाव थप बढेमा मन्दिरसहित खोलाको बीचमा रहेको ढिस्को नै बगाउन सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ । यसैबीच, मोदी खोलाको बाढीले अन्नपूर्ण गाउँपालिका–८ स्थित विरेठाँटी नजिक सडक कटान गर्दा नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकखण्डसमेत पूर्णरूपमा अवरुद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

Facebook Comments Box