कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न
मुस्ताङ, २६ साउन – उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोला नाका जोड्ने मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरोला नाकासम्मको २०२ किलोमिटर सडकखण्डमा हालसम्म १५ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् ।
२०७५ पुस ९ गते ठेक्का सम्झौता भएको घमी खोला पुल हालै निर्माण सम्पन्न भएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको छ । कठोर भूगोल, प्रतिकूल मौसम, हिमपात तथा निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माणमा लामो समय लागेको उहाँले बताउनुभयो । निर्माण कम्पनीले समयमा काम नगरेपछि पटकपटक ताकेता तथा कारबाही गरिएको थियो । सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार छ महिनाको समयावधि तोकेर दैनिक जरिवानासमेत गरिएको आयोजनाले जनाएको छ ।
सम्झौताअनुसार २०७८ पुस ९ गतेभित्र सम्पन्न हुनुपर्ने पुलको पटकपटक म्याद थप भएको थियो । सम्झौता अवधि सकिएको पाँच वर्षपछि पुल निर्माण सम्पन्न भएको हो । करिब ४० मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता लागत ६ करोड ८० लाख रुपैयाँ रहेको छ । पुलका पिलर फाउन्डेसन, स्ल्याब ढलान, प्रोटेक्सन तथा एप्रोच सडक निर्माण र फिनिसिङका काम सम्पन्न भएका छन् ।
पुल निर्माण भएपछि कोरोला नाका तथा उपल्लो मुस्ताङतर्फको आवतजावत सहज भएको आयोजनाले जनाएको छ । यसअघि बर्खायाममा घमी खोलामा पानीको बहाव बढ्दा सवारीसाधन तथा चीनबाट कोरोला नाका हुँदै सामान बोकेर आउने मालवाहक कन्टेनरलाई आवतजावतमा समस्या हुने गरेको थियो ।
पुल नहुँदा कन्टेनरहरू घमी खोलामा हप्तौँसम्म रोकिने अवस्था थियो । गत वर्ष व्यापारी र गाउँपालिकाको सहयोगमा डाइभर्सन सडक निर्माण गरी यातायात सञ्चालन गरिएको थियो । अब पुल निर्माण सम्पन्न भएपछि बाह्रै महिना सडक आवागमन सहज हुने लो घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोबसाङ छोम्पेल विष्टले बताउनुभएको छ ।
यसैबीच, बेनी–जोमसोम–कोरला सडक आयोजनाले मुस्ताङका घट्टे खोला र थापा खोलामा पुल निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । साथै छुसाङदेखि घमीसम्मको सडक कालोपत्र गर्न दुई अर्ब रुपैयाँको बोलपत्रसमेत आह्वान गरिएको आयोजनाले जनाएको छ ।

