माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
चितवन, २६ साउन – बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो । सङ्घका अनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ र मिडियम अण्डा ५०० रुपैयाँ कायम गरिएको छ ।
सानो अण्डाको मूल्य भने प्रतिपेटी अर्थात् सात क्रेटका लागि तीन हजार रुपैयाँ निर्धारण गरिएको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण घट्नुका साथै रोगका कारण धेरै कुखुरा मरेपछि अण्डाको उत्पादन घटेको छ । उत्पादन घटेसँगै बजारमा माग बढेकाले अण्डाको समर्थन मूल्य बढाइएको उहाँले बताउनुभयो ।
फार्महरूले उपलब्ध गराएको मूल्यका आधारमा समर्थन मूल्य निर्धारण गरिएको भए पनि किसानले अझै लागतअनुसारको मूल्य पाउन नसकेको अध्यक्ष पोखरेलको भनाइ छ । उहाँका अनुसार एउटा अण्डा उत्पादन गर्न औसत १९ रुपैयाँ १२ पैसा लागत लाग्छ । यस हिसाबले एक क्रेट अण्डाको लागत करिब ५७३ रुपैयाँ ६० पैसा पर्न आउँछ ।
बर्डफ्लुका कारण किसानले ठूलो क्षति व्यहोर्नुपरेको र लागत मूल्यसमेत नपाएपछि पछिल्ला केही वर्षदेखि धेरै किसान कुखुरापालन व्यवसायबाट विस्थापित हुन थालेका व्यवसायीले बताएका छन् । उत्पादनमा कमी, कुखुरामा विभिन्न रोगको सङ्क्रमण र अण्डाको उचित मूल्य नपाउने समस्याका कारण किसान बैंक ऋणको भरमा व्यवसाय सञ्चालन गर्न बाध्य हुँदै आएको जनाइएको छ । पछिल्लो समय बर्डफ्लुका कारण केही किसानका कुखुरा मर्नुका साथै अण्डाको मूल्य नपाउँदा ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको अध्यक्ष पोखरेलले बताउनुभएको छ ।

