पहिरो हटाएपछि बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा
काभ्रेपलाञ्चोक, २४ साउन – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र नार्केमा लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार पहिरो हटाएपछि बिहान ८ बजेदेखि राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।
बिहान करिब ४ बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । पहिरोका कारण केही समय उक्त सडकखण्डमा सवारीसाधनको आवतजावत ठप्प भएको थियो । पहिरो हटाएर सडक सञ्चालनमा आए पनि वर्षा भइरहेकाले थप पहिरोको जोखिम रहेको भन्दै बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । साथै, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।

