पशुपतिनाथमा दर्शनार्थीको ओइरो
काठमाडौँ, २५ साउन – साउनको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँमा झरी परिरहे पनि शिवभक्तहरू लामबद्ध भएर पशुपतिनाथ मन्दिरमा प्रवेश गरिरहेका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिएका छन् ।
गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर र पिङ्गलास्थानलगायत विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथतर्फ जाने क्रम जारी छ । गौरीनगरसम्म लामो लाइन लागेको जनाइएको छ ।साउनको अन्तिम सोमबारका अवसरमा बिहानैदेखि सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि लाम लागेको छ ।
दर्शनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक सङ्घसंस्थाले सेवा दिइरहेका छन् । सवारी आवागमन व्यवस्थापनका लागि गौशाला, जयवागीश्वरी, सिफल, मित्र उद्यान, चाबहिल र गौरीनगर क्षेत्रमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ ।
बिहान ३ बजेदेखि खुलेका मन्दिरका चारवटै ढोका आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन् । विशेष पूजा भने बिहान साढे ८ बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र सञ्चालन हुने जनाइएको छ । मन्दिर प्रवेशका लागि चारैतिरबाट लाइनको व्यवस्था गरिएको छ । भक्तजनको ठूलो भीड भए पनि लाममा धेरै समय कुर्नुपर्ने अवस्था नरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत आवश्यक स्वास्थ्य सेवा पनि उपलब्ध गराइएको छ । विभिन्न सङ्घसंस्थाले पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन् । यसैगरी, गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको ‘सानो पशुपतिनाथ’ भनेर चिनिने मक्खन महादेवलगायत देशभरका शिवालयमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

