उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ गते मनाइने

काठमाडौँ, २४ साउन – उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते देशभर विभिन्न रचनात्मक तथा सन्देशमूलक कार्यक्रम गरी मनाइने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले प्रदेशदेखि स्थानीय तहसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

यस वर्षको पुस्तकालय दिवसको आदर्श वाक्य ‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ तय गरिएको छ। नाराले सबै उमेर, वर्ग र समुदायका नागरिकका लागि पुस्तकालयको पहुँच र उपयोगितामा जोड दिएको छ। दिवसलाई व्यवस्थित बनाउन सम्मान तथा पुरस्कार, प्रकाशन तथा सम्पादन, प्रचारप्रसार तथा सामाजिक र रचनात्मक क्रियाकलाप गरी चारवटा विषयगत समिति गठन गरिएको छ।

दिवसका अवसरमा प्रदेश र स्थानीय तहका शैक्षिक संस्था तथा पुस्तकालयसँग सम्बन्धित सङ्घसंस्थामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई कार्यक्रम सञ्चालनका लागि अनुरोध गरिने पुस्तकालय सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभएको छ।

Facebook Comments Box