काठमाडौँ महानगरद्वारा सन्ध्या सहकारीलाई १५ दिने अल्टिमेटम

काठमाडौँ, २३ साउन – काठमाडौँ महानगरपालिकाले सन्ध्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बहालमा लिएको फ्ल्याट तथा कोठा खाली गर्न सूचना जारी गरेको छ। महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले न्यायिक समितिको निर्णय कार्यान्वयनका लागि सार्वजनिक सूचना जारी गरेको हो।

सविता कुमारी बस्नेत वादी र सन्ध्या बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक मनप्रसाद राई प्रतिवादी रहेको मुद्दामा न्यायिक समितिले गत जेठ १० गते निर्णय गरेको थियो।काठमाडौँ महानगरपालिका–३२ मा रहेको घरको बहाल रकम दिलाई भराई फ्ल्याट तथा कोठा खाली गराउन माग गरिएको मुद्दामा समितिले गरेको निर्णय कार्यान्वयन गर्न महानगरले ताकेता गरेको जनाएको छ।

सूचनाअनुसार सहकारी संस्थाका पदाधिकारी, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी तथा सदस्यले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागमा अनिवार्य रूपमा सम्पर्क गर्नुपर्नेछ। तोकिएको समयभित्र सम्पर्क नगरेमा प्रचलित कानुन तथा नियमअनुसार थप प्रक्रिया अघि बढाइने महानगरपालिकाले जनाएको छ।

Facebook Comments Box