अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
काठमाडौँ, २१ साउन – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार चितवनको इच्छाकामनास्थित पृथ्वी राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, ललितपुर–मकवानपुरको कान्ति लोकपथ, इलामको मेची राजमार्ग, पूर्वी रुकुमको मध्य पहाडी लोकमार्ग, बागलुङ र पाल्पाको कालीगण्डकी कोरिडोर तथा कर्णाली प्रदेशका भेरी कोरिडोर, नाग्म–गमगढी र नाग्म सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यसैगरी, सम्भावित बाढीको जोखिमका कारण काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा वि.पी. राजमार्ग राति ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ। यता, काठमाडौँको सितापाइला–धार्के सडक, मनाङको चामे–बेँसिशहर सडक, मुस्ताङको बेनी–जोमसोम सडक तथा भोजपुरको बोखिमस्थित मध्य पहाडी लोकमार्गमा पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
यसैबीच, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक र दोलखाको लामासाँघु–रामेछाप सडक पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्। दोलखामा वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले लगातारको वर्षाका कारण सडक अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले लामो दूरीको यात्रा अघि नजिकको प्रहरी कार्यालय वा आधिकारिक ट्राफिक सूचना हेरेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

