गुह्येश्वरी ढल प्रशोधन केन्द्रमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन हुँदै

काठमाडौँ, २१ साउन – काठमाडौँको गुह्येश्वरीस्थित ढल प्रशोधन केन्द्रले हाल दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन गर्न थालेको छ । आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन हुँदै आएको छ । उपत्यकाका नदी तथा वातावरण स्वच्छ राख्ने उद्देश्यले सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा पनि नयाँ ढल प्रशोधन केन्द्र निर्माण भइरहेको र ती आयोजना छिट्टै सम्पन्न हुने जनाइएको छ ।

निर्देशनालयले काठमाडौँ उपत्यकामा बढ्दो ढल व्यवस्थापनको आवश्यकता पूरा गर्न थप ढल प्रशोधन केन्द्र निर्माण आवश्यक रहेको जनाएको छ । इन्जिनियर श्रेष्ठले ढल र वर्षातको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली विकास गर्न सके प्रशोधन केन्द्रको क्षमता र प्रभावकारिता अझ बढ्ने बताउनुभयो ।

उहाँका अनुसार हाल वर्षातको पानी, बालुवा, इँटा तथा अन्य फोहोर ढलसँगै प्रशोधन केन्द्रमा पुग्दा अनावश्यक चाप बढ्ने र प्रशोधन क्षमतामा असर पर्ने गरेको छ । स्थानीय तहसँग समन्वय गरी छुट्टै पाइप प्रणाली विकास गर्न सके उपत्यकाको ढल व्यवस्थापन थप प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।

Facebook Comments Box