सुनकोसीमा बेपत्ता तीन जनाको खोजी जारी, विरोधमा मध्यपहाडी लोकमार्ग तेस्रो दिन पनि अवरुद्ध

काठमाडौँ, २० साउन -सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा भएको सवारी दुर्घटनापछि सुनकोसी नदीमा बेपत्ता भएका तीन जनाको खोजी कार्य तेस्रो दिन पनि जारी रहेको छ। घटनाको विरोधमा पीडित परिवार, आफन्त र स्थानीयवासीले मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन्।

बुधबार बिहानदेखि गोलन्जोर गाउँपालिका–१ र फिक्कल गाउँपालिका–२ को सिमानास्थित वाक्सुखोला पुलमा चक्काजाम गर्दै आन्दोलनकारीले खुर्कोट–घुर्मी सडकखण्डमा यातायात ठप्प पारेका हुन्। उनीहरूले बेपत्ता व्यक्तिको शीघ्र खोजी, पीडित परिवारलाई उचित क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाल प्रहरी र स्थानीयवासीले सुनकोसी नदीमा बेपत्ता कार र तीन जनाको खोजी गरिरहेका छन्। ड्रोन र म्याग्नेटको प्रयोग गरिए पनि नदीमा पानीको बहाव उच्च रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

गत सोमबार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बसले सडक छेउमा रोकिएको कारलाई ठक्कर दिँदा कार करिब ५० फिट तल सुनकोसी नदीमा खसेको थियो। दुर्घटनामा सिन्धुपाल्चोकका दिलकुमार लामा, सिन्धुलीका गणेश थापा र सुजन बलम्पाकी मगर बेपत्ता भएका छन्। घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

Facebook Comments Box