सरकारसँग १९ बुँदे सहमति भएपछि नर्स ज्योति रानाभाटले आमरण अनशन तोडिन्
काठमाडौँ, २० साउन – काठमाडौंमा आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाटले सरकारसँग १९ बुँदे सहमति भएपछि अनशन तोडेकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र झा, कानुन अधिकृत जयप्रसाद सुवेदी र नर्स रानाभाटबीच भएको सहमतिपछि अनशन अन्त्य भएको हो ।
सहमतिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीकी स्वकीय सचिव प्रकृति ढकाल तथा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू रोहबरमा सहभागी थिए । सहमतिअनुसार नर्स तथा मिडवाइफसहित स्वास्थ्यकर्मीको पारिश्रमिक र सम्मानजनक सेवा–सुविधा निर्धारणका लागि स्वास्थ्य मन्त्रालयले सात दिनभित्र कार्यदल गठन गर्नेछ । उक्त कार्यदलले कम्तीमा छ महिनाभित्र प्रतिवेदन तयार गर्ने सहमति भएको छ ।
नर्स रानाभाटले साउन १४ गतेदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा १५ बुँदे माग राख्दै आमरण अनशन सुरु गरेकी थिइन् । उनले सेवा–सुविधा सुधार, भ्रष्टाचारमुक्त र पारदर्शी नेपाल नर्सिङ परिषद्, गुणस्तरीय नर्सिङ शिक्षा, निष्पक्ष लाइसेन्स परीक्षा तथा सुरक्षित र सम्मानजनक स्वास्थ्य सेवा प्रणालीको माग अघि सारेकी थिइन् ।


