कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २० साउन – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। बागमती र गण्डकी प्रदेशका केही तथा कोशी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भूभागका धेरै तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

आज राति पनि वर्षाको क्रम जारी रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। विभागले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box