अविरल वर्षाले देशभर सडक प्रभावित, पहिरो र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
काठमाडौँ, १९ साउन – अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुरमा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । काठमाडौँको नागार्जुन नगरपालिका–८ ठुलो खोलामा पहिरो जाँदा सितापाइला–धार्के सडकखण्ड पनि बन्द भएको छ ।
कोशी प्रदेशमा भोजपुरको बोखिम क्षेत्रमा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ भने इलाम नगरपालिका–९ राजदुवालीमा मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । दुवै स्थानमा वैकल्पिक मार्ग प्रयोग भइरहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमका कारण बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–ललितपुर खण्डमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ ।
यसैबीच, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो र वडा नम्बर–२ कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीले यात्रा अघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा वर्षायाममा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

