ब्रड पिक हिमपहिरो : अमेरिकी आरोही म्यालोरी गाइसको शव फेला, सात जनाको अवस्था अझै अज्ञात
काठमाडौँ । पाकिस्तानको कराकोरम हिमशृङ्खलाअन्तर्गत रहेको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेका आरोहीमध्ये अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव फेला परेको छ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली हिमपहिरोमा परेपछि सम्पर्कविहीन भएको थियो ।
शुक्रबार अमेरिकी नागरिक म्यालोरी गाइसको शव फेला परेसँगै बेपत्तामध्ये तीन जनाको पहिचान खुलेको छ । यसअघि ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङको शव पनि पहिचान गरिएको थियो । अल्पाइन क्लब अफ पाकिस्तान ले प्रारम्भमा ब्रड पिक क्षेत्रमा चारवटा शव फेला परेको जनाएको थियो । तर पछि आफ्नो विवरण सच्याउँदै दुईवटा शव र मानव शरीरको एउटा अंग मात्र फेला परेको स्पष्ट पारेको थियो ।
स्थानीय गिलगिट–बाल्टिस्तान सूचना विभागका अनुसार कानुनी पहिचान प्रक्रिया पूरा गर्न तीन जनाको शव हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ । ३९ वर्षीय म्यालोरी गाइस अमेरिकाको टेक्सास राज्यस्थित सान एन्टोनियोका निवासी थिए । १० सदस्यीय आरोही टोलीमध्ये अझै सात जनाको अवस्था स्पष्ट हुन सकेको छैन ।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार हवाई ड्रोनमार्फत ब्रड पिक क्षेत्रमा अन्य केही व्यक्ति देखिए पनि उनीहरूको अवस्था पुष्टि हुन सकेको छैन । मौसम अनुकूल रहेमा शनिबार उद्धार अभियान पुनः सञ्चालन गरिनेछ । त्यसपछि बेपत्ता आरोहीहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।

