पहिरोले म्याग्दीका दुई प्रमुख सडक अवरुद्ध, यात्रा नगर्न प्रशासनको आग्रह

म्याग्दी, ११ साउन – अविरल वर्षापछि खसेको पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक र म्याग्दीको बेनी–दरवाङ सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार रघुगंगा गाउँपालिका–२ बैसरी क्षेत्रमा सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध भएको हो।

प्रहरीका अनुसार सडक खुलाउन प्रहरी र बेनी–जोमसोम सडक आयोजनाको टोली परिचालन गरिएको भए पनि निरन्तर वर्षाका कारण पहिरो पन्छाउने काममा कठिनाइ भइरहेको छ। त्यसैगरी, बेनी–दरवाङ–जलजला–रुकुम सडकअन्तर्गत बेनी नगरपालिका–४ फापरखेतको घुमाउने भिर र वडा नम्बर ६ डम्बरामा पहिरो खसेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीले दुवै सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ। यसैबीच, जिल्ला प्रशासन कार्यालय म्याग्दीले वर्षायाममा अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box