अविरल वर्षापछि देशका विभिन्न राजमार्ग अवरुद्ध, जोखिमयुक्त सडकमा यात्रा नगर्न आग्रह

देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। सोमबार बिहानसम्मको विवरणअनुसार सडक अवरोधका कारण विभिन्न स्थानमा सवारी आवागमन प्रभावित भएको छ। बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका अन्तर्गत बीपी राजमार्गमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ। सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

मकवानपुरको कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध कायम छ। सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ भने रसुवाको खाल्टे क्षेत्रमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बन्द रहेको छ। दोलखाको लामासाँघु–रामेछाप सडकमा भने वैकल्पिक मार्गबाट सवारी सञ्चालन भइरहेको छ।

कोशी प्रदेशमा इलामको राजदुवाली क्षेत्रमा पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरको बोखिम र खोटाङको माम्खा क्षेत्रमा सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ। गण्डकी प्रदेशमा म्याग्दीको बैसरी र सुकेबगर क्षेत्रमा पहिरो खस्दा बेनी–जोमसोम सडक पूर्ण रूपमा बन्द भएको छ। बागलुङको कालीगण्डकी करिडोरमा भने पहिरो हटाएर एकतर्फी सवारी सञ्चालन गरिएको छ।

लुम्बिनी प्रदेशमा रोल्पाको खोलावाङ क्षेत्रमा पहिरो खस्दा घोराही–थवाङ शहीद राजमार्ग र पाल्पाको सिद्धबाबा क्षेत्रमा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड बन्द भएको छ भने मुगुको झ्यारी खोलामा पहिरो खस्दा नाग्म–गमगढी सडकखण्ड पनि अवरुद्ध भएको छ।

सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ। वर्षायाममा बाढी र पहिरोको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा जोखिमयुक्त सडकमा विशेष सावधानी अपनाउन चालक र यात्रुलाई आग्रह गरिएको छ।

Facebook Comments Box