आज पनि मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ९ साउन  – देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा सरदरभन्दा उत्तरतर्फ र पूर्वी भू–भागमा सरदर स्थानको आसपास रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। साथै, बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।

मौसम विभागले वर्षासँगै बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम रहने भएकाले नदी तटीय क्षेत्र र पहिरो प्रभावित स्थानका बासिन्दालाई विशेष सतर्कता अपनाउन तथा विभागको पछिल्लो मौसम सूचना नियमित रूपमा पालना गर्न आग्रह गरेको छ।

Facebook Comments Box