पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न शुल्क छुट, नियमित अन्तर्राष्ट्रिय उडान आकर्षित गर्ने सरकारको अपेक्षा
गण्डकी,७ साउन – सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने उद्देश्यले विभिन्न विमानस्थल शुल्कमा छुट दिने निर्णय गरेको छ । यससँगै नयाँ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित हुने अपेक्षा गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०८५ भदौ मसान्तसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो ।
साथै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय पनि गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको निर्णयले पोखरा–दुबईसहित अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न र नयाँ वायुसेवा कम्पनी भित्र्याउन सकारात्मक वातावरण बन्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार यसले पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार तथा समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउनेछ । यसैबीच, फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सुरु गर्ने तयारी गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबई–पोखरा–दुबई उडान तालिका स्वीकृत भइसकेको छ भने कम्पनीले टिकट बुकिङसमेत खुला गरिसकेको छ ।
उनले दुबईमार्फत युरोप, अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने यात्रुका लागि यो उडान लाभदायी हुने बताए । सिधा हवाई सम्पर्क स्थापित भएपछि यात्रा समय छोटिने र खर्चसमेत कम हुने अपेक्षा गरिएको छ । नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि विदेशी पर्यटकले पोखरा र आसपासका पर्यटकीय गन्तव्यमा सिधै पुग्न सक्नेछन् । साथै वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि मध्यपूर्वसहित अन्य मुलुक जाने यात्रुलाई पनि सहज हुने विश्वास गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमै फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानको अनुमति दिएको थियो । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न विशेष पहल गर्ने घोषणा गरेको केही समयपछि फ्लाइ दुबईले उडान अनुमति पाएको हो ।
झन्डै २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि हालसम्म चार्टर उडानबाहेक नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । सरकारले गरेको पछिल्लो शुल्क छुटको निर्णयले उक्त विमानस्थललाई अन्तर्राष्ट्रिय उडानको केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

