अनधिकृत संरचना हटाउन बिर्तामोड नगरपालिकाको अन्तिम ताकेता, १५ दिनभित्र नहटाए डोजर चलाइने

झापा, ६ साउन  – बिर्तामोड नगरपालिकाले सडकको क्षेत्राधिकार मिचेर निर्माण गरिएका अनधिकृत संरचना हटाउन १५ दिनको अन्तिम म्याद दिँदै पुनः सार्वजनिक सूचना जारी गरेको छ। नगरपालिकाले सोमबार दोस्रोपटक सूचना प्रकाशित गर्दै बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सीमास्थित महानन्द चोकदेखि मुक्तिचोक हुँदै देवनियासम्मको सडक क्षेत्रभित्र रहेका संरचना तोकिएको अवधिभित्र स्वयं हटाउन सम्बन्धित घरधनी तथा व्यवसायीलाई आग्रह गरेको हो।

नगरपालिकाका अनुसार सडक विभागको समन्वयमा उक्त सडकको नापजाँच तथा रेखाङ्कन कार्य सम्पन्न भइसकेको छ। मापदण्डअनुसार सडकको केन्द्रबिन्दुबाट दुवैतर्फ १५–१५ मिटर गरी कुल ३० मिटर क्षेत्र सडकको अधिकार क्षेत्रभित्र पर्ने जनाइएको छ। यसअघि नगरपालिकाले जेठ २७ गते ३५ दिने सूचना जारी गरेको थियो। तर, निर्धारित समयभित्र पनि केही व्यक्तिले संरचना नहटाएपछि दोस्रोपटक १५ दिनको अन्तिम म्याद दिइएको नगरपालिकाले जनाएको छ।

नगर प्रशासकीय अधिकृत सागर मिश्रद्वारा हस्ताक्षरित सूचनामा तोकिएको अवधिभित्र अनधिकृत संरचना नहटाए प्रचलित कानुनअनुसार नगरपालिका आफैंले हटाउने उल्लेख गरिएको छ। नगरपालिकाले संरचना हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित घरधनी वा जग्गाधनीबाट असुलउपर गरिने चेतावनी दिएको छ।

Facebook Comments Box