बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै एकतर्फी सञ्चालन
काठमाडौँ, ६ साउन – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण कतै पूर्ण रूपमा यातायात अवरुद्ध भएको छ भने कतै एकतर्फी सञ्चालन भइरहेको छ ।
कोशी प्रदेशमा इलामस्थित मेची राजमार्गको राजदुवाली खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ । पाँचथरको राँके–रवि–भेडेटार सडक पनि अवरुद्ध छ । भोजपुर र खोटाङमा मध्यपहाडी लोकमार्गका केही स्थानमा पहिरो खसेपछि एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशमा बाढीको जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । काभ्रेस्थित विपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ । त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात रोकिएको छ ।
यसैगरी, सिन्धुपाल्चोकको जिरोकिलो–कोदारी खण्डअन्तर्गत अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ भने रसुवाको पासाङ ल्हामु राजमार्गमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ । गण्डकी प्रदेशमा बागलुङस्थित कालीगण्डकी करिडोर तथा गोरखाको आरुघाट–माछीखोला सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण काम प्रभावित भइरहेको छ । नेपाल प्रहरीले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा राजमार्ग नियन्त्रण कक्षबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

