जलवायु जनचेतनाका लागि कांग्रेसको ‘ग्रिन रन’, बीपी स्मृति दिवसमा विविध कार्यक्रम आयोजना
काठमाडौँ, ६ साउन – नेपाली कांग्रेसले जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ। जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित पाँच किलोमिटर दौडमा पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टी सभापति गगनकुमार थापासहित नेताहरू सहभागी भएका थिए ।प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नारासहित पाँच किलोमिटर दौड आयोजना गरिएको जानकारी दिए।
उनका अनुसार दौडपछि जावलाखेलस्थित फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती : निराकरण कसरी’ विषयमा विज्ञहरूको सहभागितामा समूहगत छलफल आयोजना गरिएको छ । सोही अवसरमा जलवायु परिवर्तनका चुनौती र सम्भावनालाई चित्रण गर्ने चित्रकला कार्यक्रम पनि सञ्चालन गरिएको छ, जहाँ चर्चित चित्रकारहरूले प्रत्यक्ष रूपमा चित्र बनाउनेछन् ।
कांग्रेसले साउन ७ गते ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ शीर्षकमा विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ । सोही दिन राष्ट्रिय सभागृहमा विचार गोष्ठीका साथै पार्टीको नयाँ अभियान घोषणा गरिने कार्यक्रम तय गरिएको छ ।
यसैबीच, ‘ग्रिन रन’ मा सहभागीको सङ्ख्याका आधारमा पार्टीले आफ्नै कोषबाट प्रतिव्यक्ति निश्चित रकम जम्मा गरी ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने जनाएको छ । उक्त कोषबाट पछिल्लो समय विस्थापित भएका सुकुम्बासी परिवारका वृद्धवृद्धा र बालबालिकाको हितमा सहयोग उपलब्ध गराइने कांग्रेसले जनाएको छ ।

