दोलखामा बाढीले गोठसहित बगाउँदा एक वृद्ध बेपत्ता, चार जना जोखिममा

दोलखा, ६ साउन  – दोलखाको गौरीशंकर गाउँपालिका–९ मा मंगलबार राति आएको बाढीमा परी एक वृद्ध बेपत्ता भएका छन् भने चार जना जोखिमपूर्ण स्थानमा फसेका छन्। स्थानीय सिप्रिङ खोलामा आएको बाढीले करिब ७३ वर्षीय तसमान तामाङलाई गाई–बाख्राको गोठसहित बगाएको गौरीशंकर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो।

उहाँका अनुसार सिप्रिङ खोला जलविद्युत् केन्द्र (सिनर्जी हाइड्रोपावर) मा कार्यरत चार कर्मचारी पनि बाढीका कारण जोखिमपूर्ण अवस्थामा फसेका छन्। सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्किएका छन् भने उनीहरू रहेको स्थानसमेत असुरक्षित रहेको जनाइएको छ।

खोलामा लगातार बाढी आइरहेकाले उद्धार कार्य तत्काल सञ्चालन गर्न कठिनाइ भइरहेको वडाध्यक्ष शेर्पाले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाले घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरी टोली सिंगटी र रोल्वालिङ क्षेत्रबाट पैदल घटनास्थलतर्फ गइरहेको छ।

दुर्गम भूगोलका कारण घटनास्थलमा पुग्न केही समय लाग्ने भएकाले प्रहरी घटनास्थल पुगेपछि मात्रै क्षतिको थप विवरण प्राप्त हुने डीएसपी लामाले बताउनुभयो। स्थानीयका अनुसार बाढीले सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम क्षेत्रमा पनि क्षति पुर्‍याएको छ। साथै खोलाले दुवैतर्फको जमिन कटान गरेको जनाइएको छ।

Facebook Comments Box