विश्वकप लिग–२ : नेपाल आज पहिलो खेलमा नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा सुरु हुने त्रिकोणात्मक शृङ्खलामा नेपालले आज पहिलो खेलमा नामिबियाको सामना गर्दैछ। नेपाल र नामिबियाबीचको खेल नेदरल्यान्ड्सको उट्रेख्तस्थित मैदानमा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। शीर्ष चारभित्र पर्ने सम्भावना कायम राख्न नेपालका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण मानिएको छ।

यस शृङ्खलामा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग दुई–दुई गरी कुल चार खेल खेल्नेछ। नेपालले जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा फेरि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ। शृङ्खलाअघि नेपाली टोलीले बेलायतमा विशेष तयारी गरेको थियो। त्यसक्रममा जर्सीविरुद्ध खेलेका दुवै अभ्यास खेल जितेकाले टोली उच्च मनोबलका साथ मैदान उत्रने अपेक्षा गरिएको छ।

हालसम्म विश्वकप लिग–२ मा नेपालले २८ खेलबाट २४ अंक जोड्दै अंक तालिकाको पाँचौँ स्थानमा रहेको छ। नामिबिया २२ अंकसहित सातौँ तथा नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छन्। शीर्ष स्थानमा अमेरिका ४३ अंकसहित रहँदा स्कटल्यान्ड ३८ अंकसहित दोस्रो र ओमान ३१ अंकसहित चौथो स्थानमा छन्। शीर्ष चारमा उक्लिन नेपाललाई बाँकी खेलहरूमा उत्कृष्ट नतिजा आवश्यक छ।

नेपालको टोली

कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको १५ सदस्यीय टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्। यस्तै, सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भ खेलाडीका रूपमा राखिएको छ।

Facebook Comments Box