माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जलेको अवस्थामा उपचाररत
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई माकलबारी बस्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार राति करिब २:५० बजे आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन्।
प्रहरीका अनुसार घटनास्थलमा उनका श्रीमान्ले उनलाई घाइते अवस्थामा फेला पारेका थिए। त्यसपछि तत्काल उपचारका लागि शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु पुर्याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गुरुङको अनुहार, छाती र दुवै हातसहित शरीरको करिब ५० प्रतिशत भाग जलेको छ। उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेकी छन्। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

