टेलिकम टावरमा चढेका युवकको सकुशल उद्धार
सर्लाही, ३ साउन – सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सकुशल उद्धार गरिएको छ। गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनलाई सुरक्षाकर्मीको समन्वयमा सुरक्षित रूपमा टावरबाट तल झारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार हुसैन रातिको समयमा टावरमा चढेको हुनसक्ने अनुमान गरिएको छ। उनले आज बिहान करिब ४ बजे एक साथीलाई फोन गरेर बोलाएपछि घटनाबारे जानकारी भएको थियो। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धारमा परिचालन गरिएको थियो।
उद्धारका क्रममा प्रहरीले उनका बुवा र दाजुलाई घटनास्थलमा बोलाई टेलिफोनमार्फत हुसैनसँग संवाद गराएको थियो। परिवारसँगको कुराकानीपछि उनी स्वेच्छाले टावरबाट तल ओर्लिएका हुन्। उद्धारपछि उनलाई आवश्यक स्वास्थ्य परीक्षण तथा थप परामर्शका लागि सम्बन्धित निकायको सम्पर्कमा राखिएको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

