टेलिकम टावरमा चढेका युवकलाई सकुशल उद्धार गर्ने प्रयास जारी
सर्लाही, ३ साउन – सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सकुशल तल झार्ने प्रयास दोस्रो दिन पनि जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन अझै टावरको माथिल्लो भागमै रहेका छन्। उनी मलंगवास्थित सर्लाही क्याम्पसमा बीबीएस तहमा अध्ययनरत विद्यार्थी हुन्।
घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन, नेपाल टेलिकमका प्राविधिक तथा स्थानीयवासी घटनास्थलमा पुगेका छन्। सुरक्षाकर्मीले निरन्तर संवादमार्फत उनलाई सुरक्षित रूपमा तल झार्ने प्रयास गरिरहेका छन्। टावरको उचाइ र जोखिमलाई ध्यानमा राख्दै उद्धार अभियान अत्यन्त सावधानीका साथ सञ्चालन गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा सर्वसाधारणको भीड बढेपछि सुरक्षा घेरा कडा पारिएको छ।
प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै टावर आसपास अनावश्यक भीड नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। युवक किन टावरमा चढेका हुन् भन्ने कारण हालसम्म खुलेको छैन। घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहे पनि प्रहरीले यसबारे कुनै आधिकारिक पुष्टि गरिसकेको छैन। अहिले प्राथमिकता उनको सकुशल उद्धार रहेको सुरक्षा निकायले जनाएको छ।

