स्याङ्जामा गोठ भत्किँदा एक जनाको मृत्यु

स्याङ्जा, ३२ असार – स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ। वडाध्यक्ष दीपछिरिङ गुरुङका अनुसार आज बिहान भैँसी तथा बङ्गुरलाई कुडोपानी दिने क्रममा अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मी गोठले पुरिएका थिए। घटनास्थलमै उहाँको मृत्यु भएको हो।

घटनामा गोठभित्र रहेका केही चौपाया पनि मरेको जनाइएको छ। प्रारम्भिक अनुमानअनुसार निरन्तरको वर्षाका कारण पुरानो गोठ कमजोर भई भत्किएको हुन सक्ने वडाध्यक्ष गुरुङले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box