सप्तकोसीमा पानीको बहाव बढ्दै, कोसी ब्यारेजका २१ ढोका खोलिए

सुनसरी, ३२ असार – निरन्तरको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार साँझसम्म कोसी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेपछि ५६ मध्ये २१ वटा ढोका खोलिएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पूर्वी नेपालमा वर्षा जारी रहेकाले नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ।

कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार ब्यारेजका ५२ वटा मूल ढोका र चार वटा नहरसहित कुल ५६ वटा ढोका छन्। हाल बढ्दो बहावलाई व्यवस्थापन गर्न २१ वटा ढोका खोलिएको हो। पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि जोखिमको संकेतस्वरूप कोसी ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने व्यवस्था रहेको नियन्त्रण कक्षले जनाएको छ।

वर्षायाम सुरु भएसँगै सप्तकोसी नदीमा पानीको सतह तीव्र रूपमा बढ्ने भएकाले नदी आसपासका क्षेत्र डुबान र कटानको उच्च जोखिममा पर्ने गर्छन्। विशेषगरी असार, साउन र भदौ महिनामा पूर्वी पहाडी तथा तराई क्षेत्रमा हुने वर्षाका कारण सप्तकोसीसहित प्रमुख नदीहरूको बहाव उल्लेखनीय रूपमा बढ्ने गरेको छ। सप्तकोसीमा तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती नदीको पानी मिसिन्छ। वर्षायाममा उग्र रूप लिने यो नदी सुख्खा मौसममा भने धेरै स्थानमा बालुवाले भरिएको देखिन्छ।

Facebook Comments Box